चामुनारायण नेपाल । समाजमा नागरिक समाजलाई सधैं एक सचेत शक्ति, निष्पक्ष आवाज र जिम्मेवार अभिभावकका रूपमा चित्रित गरिन्छ। यसको भूमिका भनेको सरकार, राजनीतिक दल र नागरिकबीच सेतुको काम गर्नु हो। जब राज्यको शक्ति नियन्त्रण बाहिर जान्छ वा राजनीतिक दलहरू दलीय स्वार्थमा अन्धाधुन्ध लाग्छन्, त्यतिबेला नागरिक समाज नै सत्य, न्याय र विवेकको आवाज बन्ने अपेक्षा गरिन्छ। तर पछिल्लो समय देखिएको अवस्थाले नागरिक समाजको अस्तित्वमाथि नै गम्भीर प्रश्न उठाएको छ।

देशका विभिन्न भागमा तोडफोड, आगजनी, लुटपाट र ध्वंसका गतिविधि भइरहँदा नागरिक समाजका नाममा परिचित भनिने अगुवाहरू टुलुटुलु रमिते बनेर बसिरहेका देखिन्छन्। समाज जलेर खरानी हुँदा, सार्वजनिक सम्पत्ति नष्ट हुँदै गर्दा, निर्दोष नागरिकको पसिना र करबाट बनेका संरचना ध्वस्त भइरहँदा उनीहरू मौन बस्छन्। घटनास्थलमा नागरिक समाजको सक्रियता हुँदैन, अपराध रोक्न वा सचेत गर्न आवाज उठाइँदैन। तर जब सम्पूर्ण संरचना भत्किसक्छ, घरबार गुमिसक्छ, समाज र प्रशासनिक संयन्त्र खरानीमा परिणत हुन्छ-त्यहीबेला उनीहरू राजनीतिक दलसँगको आवद्धता लुकाएर वा प्रष्ट्याएर "नागरिक समाजका अगुवा" भनेर भाषण दिन अगाडि आउँछन्।

यस्तो ढिलासुस्तीपूर्ण र अवसरवादी प्रवृत्ति नागरिक समाजको वास्तविक गरिमा र ऐतिहासिक भूमिकामाथि कलंक हो। नागरिक समाज भन्ने शब्द मात्र प्रयोग गरेर, तर संकटको बेलामा मौन रहने बानीले नागरिक समाजको हैसियत घटाएको छ। यो केवल व्यक्तिगत वा दलीय स्वार्थलाई नागरिक समाजको आवरणमा प्रस्तुत गर्ने प्रयास हो, जुन वास्तवमा नागरिक समाजको बेइज्जती हो।

साँचो नागरिक समाज भनेको-संकटको घडीमा अग्रपंक्तिमा उभिने, निष्पक्ष रूपमा अन्यायविरुद्ध आवाज उठाउने, आगजनी र तोडफोड रोक्न समाजलाई सचेत गराउने र राज्यलाई जिम्मेवार बनाउन दबाब दिने शक्ति हो। रमिते बनेर बस्ने, अनि सबै खरानी भइसकेपछि मात्र वक्तव्य दिन आउनेलाई नागरिक समाजको असली प्रतिनिधि मान्न सकिँदैन।

अब नागरिक समाजको पुनःपरिभाषा आवश्यक छ। जो व्यक्तिहरू दलीय स्वार्थमा बाँधिएका छन्, संकटको बेला चुप लाग्छन् तर सजिलो घडीमा मात्रै "अगुवा" देखिन्छन्, उनीहरूलाई नागरिक समाजको श्रेणीमा राख्नु न्यायसंगत हुँदैन। नागरिक समाजको सम्मान जोगाउन आज आवश्यक कुरा भनेको मौन दर्शक बन्ने होइन, संकटको क्षणमै निर्भीक र निष्पक्ष आवाज बन्ने हो।