नेपालीको महान् चाड दशैंको चहलपहल सुरु भइसकेको छ। बजारमा किनमेल गर्ने, नयाँ लुगा किन्नेदेखि घर फर्किने यात्रुले सडक भरिएका छन्। दशैं वर्षदिनको प्रतीक्षापछि आउने मात्र पर्व नभई, परिवारलाई एकै थलोमा भेला गराउने ठूलो अवसर पनि हो।


यसै अवसरमा संचारकर्मी सचिता बुुढाथोकीले आफ्नो दशैं अनुभव बाँड्दै भनिन्-
“दशैं भन्नासाथ मलाई गाउँको पिङको याद आउँछ। बाल्यकालमा नयाँ लुगा लगाएर साथी-संगी, दिदी-दाजुसँग दिनभरि पिङ्ग खेल्थ्यौं। कहिलेकाहीँ त सातौँ पटकसम्म पनि खेल्थेँ। अरूलाई पालो दिनै मन लाग्दैनथ्यो, किनभने दशैंको रौनक नै पिङ्गसँग जोडिएको जस्तो लाग्थ्यो। त्यसबिना दशैं अपूर्ण लाग्थ्यो। तर अहिले गाउँघरमा पिङ्ग हाल्ने चलन हराउँदै गएको देख्दा मन खिन्न हुन्छ।”
सचिता सम्झन्छिन्, दक्षिणा (पैसा) भन्दा आफूलाई सधैं आशिर्वाद नै बढी प्रिय लाग्थ्यो।
“कसले के दिएको छ भन्ने हिसाब-किताब कहिल्यै गरेकी थिइनँ। तर को आफन्तले कस्तो आशिर्वाद दिनुभयो भन्ने कुरा भने मनमनै सम्झेर खुसी हुन्थेँ। नयाँ लुगा लगाएर आफन्तकहाँ गएर दशैं मनाएको झलझली सम्झना अझै ताजा छ।”
तर वर्तमान दशैंलाई उनले अलिक फरक ढंगले अनुभव गरिरहेकी छन्।
“यो वर्षको दशैं अलिक खल्लो लागिरहेको छ। जेनजी आन्दोलन र पछिल्ला घटनाक्रमले मुटु नै काम्छ। कहिलेकाहीँ चिन्ता बढ्छ, तर फेरि भोलिका सन्तानको भविष्यको लागि आट गर्छु। यो दशैंमा धेरै नेपालीलाई पनि यस्तै लागिरहेको होला। तर म विश्वास गर्छु-नवदुर्गा भवानीले हामी सबै नेपालीलाई फेरि एकपटक उठ्ने हिम्मत र साहस दिनुहुन्छ।”
बाल्यकालको रमाइलो र वर्तमानको जिम्मेवारीबीचको दूरी प्रष्ट छ। तर सचिता जस्तै, दशैं सबै नेपालीका लागि अझै पनि आशा, एकता र नयाँ सुरुवातको प्रतीक बनेर आएको छ।