झापा । ग्रामीण क्षेत्रका पत्रकारहरूको साझा आवाज र पेशागत एकताको आधार निर्माण गर्ने उद्देश्यसहित स्थापित “ग्रामीण प्रेस क्लब झापा” जिल्ला प्रशासन कार्यालय झापामा विधिवत रूपमा दर्ता भई प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।
यो दर्तासँगै झापाको ग्रामीण पत्रकारिता औपचारिक संरचना, कानुनी मान्यता र संस्थागत पहिचानतर्फ उन्मुख भएको छ। लामो समयदेखि छरिएर कार्यरत ग्रामीण पत्रकारहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै पेशागत हकहित, क्षमता अभिवृद्धि, तथ्यमा आधारित समाचार प्रवाह र उत्तरदायी पत्रकारिताको अभ्यासलाई सुदृढ बनाउने लक्ष्य क्लबले लिएको जनाएको छ।
संस्थाको दर्ता प्रक्रिया सफल बनाउन कार्यसमिति सदस्यहरू, सल्लाहकार समिति, सम्पूर्ण सदस्यहरू तथा प्रत्यक्ष-परोक्ष रूपमा योगदान पुर्याउने सबैप्रति हार्दिक आभार व्यक्त गरिएको छ। “सहकार्य, विश्वास र साझा प्रतिबद्धताकै बलमा यो ऐतिहासिक उपलब्धि सम्भव भएको हो,” क्लबले जनाएको छ।
ग्रामीण प्रेस क्लब झापाले आगामी दिनमा ग्रामीण मुद्दाहरूलाई प्राथमिकतामा राख्दै विकास, सुशासन, शिक्षा, कृषि, स्वास्थ्य, स्थानीय नीति तथा नागरिक सरोकारका विषयलाई तथ्यपरक ढंगले उजागर गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, पत्रकारहरूको पेशागत सुरक्षा, तालिम, आचारसंहिता पालन र संस्थागत सुदृढीकरणमा विशेष जोड दिइने जनाइएको छ।
सञ्चार क्षेत्रको बढ्दो चुनौती र सूचनाको तीव्र प्रवाहको युगमा ग्रामीण तहसम्म विश्वसनीय र उत्तरदायी पत्रकारिता स्थापित गर्नु समयको आवश्यकता रहेको सन्दर्भमा, ग्रामीण प्रेस क्लब झापाको औपचारिक स्थापना झापाको सञ्चार इतिहासमा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
क्लबले आगामी दिनहरूमा पनि सबै सरोकारवालासँग निरन्तर सहकार्य, संवाद र समन्वय गर्दै ग्रामीण पत्रकारितालाई अझ सशक्त, व्यावसायिक र प्रभावकारी बनाउने लक्ष्य अघि सारेको छ।




















