बनियानी, झापा । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म घेराबारीले कचनकवल गाउँपालिका क्षेत्रभित्र सञ्चालित माध्यमिक तहका विद्यालयहरूमा विपद् जोखिम न्यूनीकरण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको कार्यक्रमअन्तर्गत आज लक्ष्मी माध्यमिक विद्यालय, कचनकवल-६ (बनियानी) मा विपद् सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयका प्रधानाध्यापक छविलाल बस्नेतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सीमा सुरक्षा गुल्म घेराबारीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक लक्ष्मण बस्नेतले मुख्य प्रशिक्षकको रूपमा विद्यार्थीहरूलाई विपद् व्यवस्थापन, पूर्वतयारी, उद्धार तथा जोखिम न्यूनीकरणका विविध पक्षबारे प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणका क्रममा नायव उपरीक्षक बस्नेतले भूकम्प, आगलागी, बाढी, चट्याङ, हावाहुरीलगायत प्राकृतिक तथा मानव सिर्जित विपद्का सम्भावित जोखिमबारे जानकारी दिँदै विपद् आउनुअघि अपनाउनुपर्ने सावधानी, विपद्को समयमा सुरक्षित रहने उपाय तथा विपद्पछिको व्यवस्थापनबारे विद्यार्थीलाई व्यवहारिक जानकारी गराउनुभएको थियो। उहाँले विपद् व्यवस्थापन केवल सुरक्षा निकायको जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै सचेत नागरिक निर्माणका लागि विद्यालय तहदेखि नै यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक छविलाल बस्नेतले विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहुने उल्लेख गर्दै जीवनोपयोगी ज्ञान र व्यवहारिक सीपले नै विद्यार्थीलाई सक्षम नागरिक बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, “विपद् जुनसुकै बेला र जुनसुकै स्थानमा आउन सक्छ। त्यसको सामना गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास विद्यार्थीले विद्यालय तहबाटै हासिल गर्नुपर्छ। सशस्त्र प्रहरी बलले सञ्चालन गरेको यस्तो कार्यक्रमले विद्यार्थीमा सचेतना मात्र होइन, विपद्को अवस्थामा सही निर्णय गर्ने क्षमता पनि विकास गर्छ।”
विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा विपद् प्रतिकार्यका आधारभूत विधि, सुरक्षाका उपाय र सामुदायिक सहकार्यको महत्वबारे समेत छलफल गरिएको थियो।
सीमा सुरक्षा गुल्म घेराबारीले आगामी दिनमा पनि कचनकवल क्षेत्रका विभिन्न विद्यालयमा यस्ता चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।




















