झापा । गत आइतबारदेखि सवारीसहित बेपत्ता भएका झापा जिल्लाको शिवसताक्षी नगरपालिका-१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको शव झापा गाउँपालिका-५ स्थित हुलाकी राजमार्ग नजिकैको बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ।

वडा नम्बर १० का सदस्य दीपक पोखरेलका अनुसार शनिबार बिहान घटनास्थल वरिपरि दुर्गन्ध फैलिन थालेपछि स्थानीयको सूचनाका आधारमा खाल्टो खनेर हेर्दा शव फेला परेको हो।

उनका अनुसार, “शव सड्न थालेको अवस्थामा भेटिएको छ, साथमा रहेको नागरिकताका कारण परिवारले सनाखत गर्न सकेका छन्,” पोखरेलले बताए।

शव भेटिएलगत्तै परिवारका सदस्य र प्रहरी टोली घटनास्थल पुगेका थिए। प्रारम्भिक अनुमान अनुसार सरोजको हत्या गरी शव लुकाउन पुलमुनि गाडिएको हुनसक्ने प्रहरीको भनाइ छ। वडा सदस्य पोखरेलले भने, “दोषीको शीघ्र पहिचान गरी कडा कारबाही गर्न प्रशासनले ढिलाइ गर्न हुँदैन।”

यसअघि सरोजले चलाउँदै आएका बा १३ च ३८६४ नम्बरको कार झापाको मेचीनगर-१३ चारआली-भद्रपुर रोड नजिक हातेमालो सामुदायिक वनभित्र पूर्णरूपमा जलेको अवस्थामा फेला परेको थियो।

स्थानीयले जंगलभित्र कारमा आगो बलिरहेको देखेपछि प्रहरी र दमकललाई खबर गरेका थिए। आगो नियन्त्रणमा लिएपछि प्रहरी टोलीले घटनास्थलबाट प्रमाण संकलन गरी अनुसन्धान थालेको थियो।

पाँच दिनपछि जलेको कार र आठ दिनपछि पुलमुनि गाडिएको शव फेला परेपछि, घटनाले नयाँ मोड लिएको छ। शव भेटिएपछि परिवार र स्थानीयवासी शोकमा डुबेका छन्। सरोजका पिता सकलदेव शर्माले छोरा र गाडी दुबै सम्पर्कविहीन भएपछि खोजीकार्य अघि बढाएको बताए।Screenshot_2025-11-01-10-00-46-427_com.facebook.katana-edit

जिल्ला प्रहरी कार्यालय झापाका एक अधिकारीका अनुसार,“आगजनी गरिएको गाडी र फेला परेको शवबीचको सम्बन्ध स्पष्ट भइसकेको छ। प्रारम्भिक रूपमा यो हत्या प्रकरण हो भन्ने देखिएको छ, तर घटनाको कारण र संलग्न व्यक्ति पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।”

यो रहस्यमय घटनाले शिवसताक्षी र आसपासका क्षेत्रमा त्रास फैलाएको छ। स्थानीयवासीहरूले घटनाको छिटो र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्।

विद्यार्थीलाई जरुरी सूचना :

FB_IMG_1762137470311 1