भद्रपुर, असार ७ –

झापाको भद्रपुरमा लागुऔषध ब्राउन सुगरसहित एक युवक र युवती पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६ निवासी २४ वर्षीय निवेश कुँवर र लमजुङको कोलासोतार गाउँपालिका–७ की २२ वर्षीया नोजिना राना मगर रहेका छन्।

शनिबार दिउँसो १ः३० बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा भद्रपुर–५ स्थित भन्सार चोकमा भारतबाट नेपालतर्फ आइरहेको बा.प्र. ०१–०३० च ७७९३ नम्बरको ब्लु रङ्गको नेटा कम्पनीको कारलाई रोकी चेकजाँच गर्दा ब्राउन सुगर फेला पारेको हो।

प्रहरी निरीक्षक विजय चौहान र प्रहरी नायव निरीक्षक कुमार सोमेस लामिछानेको कमान्डमा खटिएको टोलीले गरेको अनुसन्धान अनुसार चालक कुँवरले कालो प्लास्टिकमा प्याक गरी सिटमा लुकाएर ल्याउँदै गरेको अवस्थामा लागुऔषध फेला परेको हो।

डिजिटल तराजुमा तौल गर्दा उक्त ब्राउन सुगर प्लास्टिकसहित ५१ ग्राम ९९० मिलिग्राम र प्लास्टिक हटाएपछि ४७ ग्राम ६९० मिलिग्राम रहेको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानमा युवती राना मगर ब्राउन सुगर लिन भद्रपुरसम्म कार भाडामा लिएर आएका खुलेको प्रहरीले जनाएको छ।

हाल दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।