झापा, असार ८ –


कचनकवल गाउँपालिका वडा नम्बर १ निवासी ४६ वर्षीय बरतलाल राजवँशीको ज्यान बनियानीस्थित सर्पदँश उपचार केन्द्रले बचाएको छ। हिजो दिउँसो १२:१५ बजे विषालु गोमन सर्पले डसेपछि उहाँका काका महादेव कुमार राजवँशीले तत्कालै बिरामीलाई मोटरसाइकलमा हालेर १२:४५ बजे उपचार केन्द्रमा पुर्याएका थिए।
उपचार केन्द्र आइपुग्दाको बेलामा बिरामीको अवस्था सामान्य देखिए पनि केही समयपछि विषको असर देखिन थाल्यो। त्यसपछि चिकित्सक हृदय नारायण शाह, नवाज नुरी र डा. दीपेन राजवँशीको संयुक्त टोलीले तत्कालै एन्टि-स्नेक भेनम (ASV) चलाएर सफलतापूर्वक उपचार गरेका छन्।
दक्षिणी झापाको एक मात्र सर्पदँश उपचार केन्द्रका रूपमा परिचित प्राथमिक स्वास्थ्य केन्द्र बनियानी अन्तर्गतको सो केन्द्र स्थापना यता हालसम्म ८५७ जनाको सफल उपचार भइसकेको छ। उपचारमा आएका एकजना पनि बिरामीको मृत्यु नभएको स्वास्थ्य केन्द्र स्रोतले जनाएको छ।
सर्पदँशका कारण हरेक वर्ष कचनकवल गाउँपालिकामा ४-५ जनासम्म अकाल मृत्यु हुने गरेकोमा, बनियानीमा उपचार केन्द्र स्थापनापछि यो अवस्था अन्त्य भएको छ। साथै, भारतको बिहार राज्यबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन्, जसले गर्दा यो केन्द्र अन्तर्राष्ट्रिय रूपमा पनि आशालाग्दो सेवा केन्द्रका रूपमा स्थापित भएको छ।
सर्पदँशसँग सम्बन्धित अन्धविश्वास, झारफुक र ढिलो उपचारमा आउनाले जीवन जोखिममा पर्ने अवस्था हटाउने उद्देश्यले सञ्चालनमा आएको यो केन्द्रले समयमै उपचार गरिएमा सर्पदँशबाट कोही पनि नमर्ने कुरालाई प्रमाणित गरिसकेको छ।
स्थानिय सरकारको बलियो साथ, आवश्यक सेवा सुविधा र दक्ष चिकित्सकहरूको समर्पणले सर्पदँश उपचार केन्द्र बनियानीलाई जनजीवन रक्षाको केन्द्रका रूपमा स्थापित गराएको छ।