बनियानी, असार ४


कचनकवल गाउँपालिकाले सडक दुर्घटना न्यूनीकरणका लागि गाउँपालिकाभित्रका मुख्य सार्वजनिक स्थलहरू अगाडि ‘जेब्राक्रस’ निर्माण कार्य तीव्र बनाएको छ। गाउँपालिका परिसर अगाडि, लक्ष्मी मावि, हुकाहुकी चौक, पेट्रोल पम्प लगायत स्थानहरूमा जेब्राक्रस निर्माण गरिएको छ।
गाउँपालिकाको तर्फबाट जनचेतनामूलक पहलस्वरूप ‘सबैले बुझ्ने तरिकामा’ जेब्राक्रस निर्माण थालिएको हो। पैदलयात्रीहरूलाई सुरक्षित पार गर्ने उद्देश्यले बनाइने जेब्राक्रसले चालकलाई सावधानी अपनाउन बाध्य पार्ने र दुर्घटनाको सम्भावना घटाउने विश्वास गरिएको छ।
नेपालमा दैनिकरूपमा हुने सवारी दुर्घटनाको प्रमुख कारणमध्ये एक हो—अनियन्त्रित सडक पार गर्ने प्रवृत्ति र ट्राफिक नियमको पालना नगर्नु। यस्तै चुनौतीलाई सम्बोधन गर्न कचनकवल गाउँपालिकाले रणनीतिक र भीडभाड भएका ठाउँमा जेब्राक्रसमार्फत सुरक्षित क्रसिङको सुनिश्चितता गर्न थालेको हो।
ईलाका प्रहरी कार्यालय बनियानीका ट्राफिक प्रहरी मनोज पुरीका अनुसार, “सडक पार गर्ने नियम र चेतनाको अभावका कारण धेरै दुर्घटना हुने गरेका छन्। जेब्राक्रसले चालक र पैदल यात्री दुवैलाई सजग बनाउँछ।”
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, सडक पार गर्ने सुरक्षित संरचना नहुनु दुर्घटनाको प्रमुख कारक हो। जेब्राक्रस जति स्पष्ट र देखिने हुन्छ, त्यति नै प्रभावकारी हुन्छ। कचनकवलमा बनाइएका जेब्राक्रसहरू सेतो र ठूला पेन्टमार्फत बनाइँदैछन्, जुन टाढाबाटै देखिने छन्।
गाउँपालिकाले आगामी दिनमा कचनकवल गाउँपालिका भित्रका मुख्य सडक छेउमा सञ्चालित विद्यालय क्षेत्र, स्वास्थ्य चौकी, बजार क्षेत्रजस्ता स्थानहरूमा पनि जेब्राक्रस निर्माणलाई प्राथमिकता दिने जनाएको छ।