काठमाडौँ, असार १ – पछिल्लो समय पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि बढ्दो धरपकड, धम्की र दुव्र्यवहारका घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोग (NHRC) ले गम्भीर ध्यानाकर्षण जनाएको छ। आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्यप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारलाई यस्तो गतिविधिमा संलग्न व्यक्तिहरूमाथि तत्काल रोक लगाउन आग्रह गरेको छ।


आयोगले पछिल्ला केही दिनयता विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन गरेको वा सामाजिक सञ्जालमार्फत विचार व्यक्त गरेको आधारमा पत्रकारहरूलाई धम्की दिइएको, पक्राउ पुर्जी जारी गरिएको र अन्य किसिमको दुव्र्यवहार गरिएको घटनाहरुको नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। यस सम्बन्धमा आयोगमा विभिन्न सूचना तथा गुनासा समेत प्राप्त भएका छन्।
प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार यस्ता घटनाहरू मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी सन् १९६६ को अन्तर्राष्ट्रिय महासन्धिको प्रतिकूल छन्। साथै, नेपालको संविधानले व्यवस्था गरेको सञ्चारको हक, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको समेत उल्लंघन भएको आयोगको ठहर छ।
आयोगले लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रता माथि यस्तो किसिमको हस्तक्षेपलाई गम्भीर चुनौतीका रूपमा लिएको छ। “प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्नु सरकारको संवैधानिक दायित्व हो,” आयोगले भनेको छ, “तर जिम्मेवार पदाधिकारीहरूबाटै यस्तो किसिमको व्यवहार हुनु अत्यन्तै चिन्ताजनक विषय हो।”
आयोगले सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण रक्षा गर्न, पत्रकारहरूको सुरक्षामा संवेदनशील हुन र पत्रकारिता आचारसंहिताभित्र रही जिम्मेवार सञ्चारको प्रवर्द्धन गर्न आग्रह गरेको छ। साथै, पत्रकार तथा सञ्चार गृहलाई सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्दै आमसञ्चारको गरिमा जोगाउने कार्यमा सचेत रहन पनि सुझाव दिएको छ।