यदि तपाईं संचार माध्यम र सामाजिक सञ्जाल नियमित रूपमा पछ्याउनुहुन्छ भने, आइतबार (हिजो) कमल थापाको दृश्य तपाईंको आँखाबाट छुटेको नहुन सक्छ। प्रहरीले उनलाई बलपूर्वक समातेर ‘झ्यानाकुटी’ पार्दै भ्यानमा हालेर लगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।


राजावादी आन्दोलनका अगुवा बन्न पुगेका थापा पछिल्लो समय सडक संघर्षमा होमिएका छन्। राप्रपाबाट राजावादी धार छुट्ट्याउँदै आन्दोलनको नेतृत्व सम्हालिरहेका उनी आइतबार निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा प्रहरीले पक्राउ गरेको हो। नारायणचौरबाट पक्राउ परेका थापासहित सात जनालाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ।
कमल थापा अहिले “विद्रोही राजावादी” को परिचयमा चर्को स्वरमा गणतन्त्रविरोधी अभियान चलाइरहेका छन्। उनी लगायत राजावादी नेताहरू पूर्वराजा ज्ञानेन्द्रलाई पुनः सिंहासनमा फर्काउनु देशको समस्याको समाधान हो भन्ने विचार फैलाइरहेका छन्। उनीहरूको नजरमा गणतन्त्र नै देशको अवनतिको मुख्य कारण हो।
पछिल्लो समय राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगको मतभेद र तीनकुने घटनापछि थापा फेरि राजसंस्थाको पक्षमा अग्रपंक्तिमा देखिन थालेका हुन्। दुर्गा प्रसाईँको गिरफ्तारीपछि उत्पन्न राजनीतिक खाल्डो भर्न थापा अग्रसर बनेका छन्।
तर थापा यतिबेला जुन क्रान्तिकारी बोली बोल्दैछन्, त्यो सुन्दा लाग्छ-उनी हिलोमा फुलेको कमल हुन्। तर इतिहासमा फर्केर हेर्ने हो भने उनी राज्य शक्ति र स्रोतको प्रयोग गर्ने प्रमुख पात्रमध्येका एक थिए।
७० वर्ष उमेर पार गरेका थापाले आफ्नो ऊर्जाशील जीवनकालको अधिकांश समय सत्ता वरिपरि बिताएका छन्। पूर्व फुटबल खेलाडीसमेत रहेका उनले पञ्चायत कालमा राजनीतिमा प्रवेश गरी २०४३ सालमा वन तथा भू संरक्षण मन्त्री भएर सत्ता यात्राको थालनी गरेका थिए।
बहुदलपछिको राजनीतिमा उनले राप्रपाको माध्यमबाट पटक–पटक मन्त्री बने। ज्ञानेन्द्र शाहद्वारा २०५९ र २०६१ मा गरिएको ‘कु’का क्रममा थापा सरकारको हर्ताकर्ताका रूपमा उदाएका थिए। दोस्रो ‘कु’पछिको सरकारमा गृह मन्त्रालय सम्हाल्दै उनले जनआन्दोलनमाथि दमन गर्न निर्देशन दिएका थिए।
जनआन्दोलन ०६२/६३ मा भएको दमनबारे छानबिन गर्न बनेको रायमाझी आयोगले थापा, अन्य मन्त्रीहरू तथा सुरक्षा अधिकारीहरूलाई कारबाही सिफारिस गरेको थियो। आयोगले संकलन गरेका तथ्यांक अनुसार राज्य स्रोतको व्यापक दुरुपयोग, मानव अधिकार हनन तथा करोडौँ रकम खर्चबारे प्रमाणसहित प्रतिवेदन बुझाएको थियो।
गृह मन्त्रालयबाट मात्रै ५ करोड ४५ लाख, रक्षा मन्त्रालयबाट २ करोड १२ लाख, सूचना तथा सञ्चार मन्त्रालयबाट ६ करोड ३७ लाख रुपैयाँ बिना प्रयोजन खर्च भएको उल्लेख छ।
हिजो गोली ठोक्ने आदेश दिने गृह मन्त्री आज त्यही गोलीको त्रासबीच पक्राउ परेका छन्। समयले यस्तो मोड दिएको छ कि कहिले सत्तामा रहेर आन्दोलन दबाउने थापा, आज आफै विद्रोही बनेका छन्। इतिहासले प्रमाणित गरिसकेको छ-शक्ति सधैँ स्थायी हुँदैन, चरित्र मात्रै स्थायी हुन्छ।