झापा।कचनकवल गाउँपालिकाले ६० बर्ष उमेर पुगेका गाउँपालिका भित्रका २ जना सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मानका साथ विदाई गरेको छ । नसर्ने रोग सम्बन्धि तीन दिने अभिमुखीकरण कार्यक्रम समापनको अन्तिम दिन गाउँपालिका स्वास्थ्य शाखाले उमेर हदका कारण अनिवार्य अवकाशप्राप्त दुई महिला स्वास्थ्य स्वयंसेविकालाई जनही ७५ हजार रुपैया प्रदानगरी सम्मान तथा विदाई गरेको हो ।

सम्मानित तथा विदाई हुनेहरुमा वडा नम्बर ६ बाट रञ्जन कुमारी राजवँशी र कचनकवल वडा नम्बर ७ बाट देवी माया घिमिरे जनही ७५ हजार र सम्मानपत्रले सम्मानित रहनु भएको छ ।

उमेरहदका कारण विदाई हुनेहरुलाई गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी,गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई र स्वास्थ्य शाखाका प्रमुख जागेश्वर प्रसाद यादवले नगद ७५ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।Screenshot_20240707_174306_Gallery

सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई स्वास्थ्य कार्यालय झापाको आयोजनामा तीन दिवसीय नसर्ने रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रमको समापनको अवसरमा गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजना गरिएको सम्मान तथा विदाई कार्यक्रममा बोल्दै उपाध्यक्ष नवराज भट्टराईले समुदायमा महिला स्वास्थ्य स्वयँ सेविकाहरुको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । स्वास्थ्य क्षेत्रमा काम गर्दा धेरै चुनौती आउने गरेपनि नागरिकको घरघरमा पुग्ने स्वयं सेविकाहरुको सेवा र योगदानको गाउँपालिकाले उच्च सम्मान गर्दै आएको उहाँले बताउनुभयो । Screenshot_20240707_174238_Gallery

कार्यक्रममा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले शुभकामना मन्तब्य व्यक्त गर्दै सम्मानित तथा विदाई हुनेको उज्ज्वल भबिष्यको कामना गर्दै गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गर्दै आएको नयाँ कार्यक्रमलाई जनताको घरदैलोमा पुर्याउन स्वयंसेविकासँग अनुभव र सेवाको बारेमा जानकारी भएकाले ‘स्वस्थ जीवनशैली हाम्रो आवश्यकता:संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका’ भन्ने मूल नारालाई आत्मसात गर्दै अघि बढ्न आग्रह गर्नु भएको थियोे ।

स्वास्थ्य कार्यालय झापाद्वारा पालिका भित्रका ६३ जना सहभागी महिला स्वास्थ्य स्वयंसेविकालाई प्रत्येक वडाका दुईजनालाई प्रेसर,सुगर नाप्न सक्ने बनाउने उदेश्यले आयोजना गरिएको तीन दिवसीय कार्यक्रमको उद्घाटन स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवद्वारा गरिएको थियोे। अभिमुखिकरण कार्यक्रमको सहजकर्ताको रुपमा प्राथमिक स्वास्थ्य केन्द्र बनियानीका जनस्वास्थ्य निरीक्षक नवीन मिश्र,स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठक र जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले गर्नु भएको थियोे ।

कार्यक्रम समापनको अन्तिम दिन पालिका भित्रका जनप्रतिनिधि र स्वास्थ केन्द्र प्रमुख सहितको कार्यक्रममा प्रमुख अतिथि कालेन्द्र प्रसाद सिह राजवँशी,बिशिस्ट अतिथि नवराज भट्टराई,जागेश्वर प्रसाद यादव,जनस्वास्थ्य प्रयोगशाला सहायक चन्द्र शेखर कुमार यादव रहनु भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका महेश चन्द्र नेपालले गर्नु भएको थियोे।